Sunday, August 30, 2009

ऐ ! खोला नदी र खहरेहरू हो

बिचार
खोला हो भन्नेहरुले
ठीकै भनेछन् एक अर्थमा
शान्त समुन्द्र निर्माणको लागि
खोलाहरू बग्नैपर्छ, उर्लिनै पर्छ ।

धर्तीको कुनाकाप्चाबाट
मुलहरू उम्रिएनन् यदि भने
खोलाहरू बग्न सक्दैनन्र
बिद्रोह सुसाउदै पहाड़विरुद्ध
बगेनन् खोलाहरू यदि भने पनि
ब्यर्थ हुन्छ परिकल्पना समुन्द्रको ।


च्यापिएर
पहाड़कै बीचबाट उम्रन्छन् मुलहरू,
पहाड़को स्थिरता र खोलाको गतिशीलता
जन्मदै विरोधी हुन्छन् एक-अर्काको
फेवाताल बनेर मूलहरु
सन्तोष मान्दैनन् पहाड़को फेदमा
पातले छांगो बनेर चुनौती बोल्छन् बरु ।

खोलाहरू
कुनै पनि संरचनाले धर्तीको
छेकिदैनन् समुन्द्र पुग्नबाट,
खोलाले भत्काएका डांडाहरु
र धर्तीले उभ्याएका पहाड़हरु
दुवै हार्छन् / दुवै जित्छन्,
प्रश्न एतिबेला हार-जितको हैन
सद्भाव र संतुलनको हुनुपर्छ ।

खोलाहरू
बगिरहेछन् एतिखेर
भिन्दाभिन्दै बाटोमा फरक-फरक
सबैको गंतव्य समुन्द्र हो र हुनुपर्छ,
तिमी एउटा खोला बगाउने सामर्थ्य राख्छौ र राख्नुपर्छ,
म अर्को खोला बगाउने सामर्थ्य राख्छु र राख्नुपर्छ
खोला बगाउने सामर्थ्य राख्नु
कती ठूलो कुरा भो र?
खोलाहरु धेरै थरिका बगिसकेका छन् ।

अब त
मिसिएर खोलाहरू एकै ठाउमा
एउटा एस्तो समुन्द्र बनाउने सामर्थ्य राख्नुपर्छ
जसमा सानो गुजीले पनि बाच्न पाउनुपर्छ,
पराइको प्रयोगशाला बनेर
समुन्द्र सुनामी बन्नू हुदैन।

त्यसैले
ऐ ! खोला नदी र खहरेहरू हो
छिटो गंतव्य भेट्नको लागि
आउ अव हामी सबै एकै प्रवाहमा बगौं
र सबैको अस्तित्व स्वीकार गर्ने
साझा समुन्द्र बनाऊँ ।